शेखरको देउवालाई कटाक्ष, मन्त्रीक्वार्टरमा बिहानै घुसको ब्रिफकेस पुग्छ, कांग्रेस साक्षी बस्यो


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारको रवैयाबारे कडा टिप्पणी गरेका छन् । उनले सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई संकेत गर्दै तीखो प्रहार गरेका छन् ।

कोइरालाले मन्त्रीहरूका गतिविधि र गठबन्धनमा कांग्रेसको भूमिकालाई समेत प्रश्न उठाउँदै भ्रष्टाचार, सत्ता र विपक्षीको भूमिकामाथि कटाक्ष गरेका हुन्।

उनले सत्ता सञ्चालनको शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। कोइरालाले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरू प्रमाणसहित उजागर भए पनि प्रधानमन्त्रीले कारबाही गर्न नसकेको र उल्टै मन्त्रीहरूकै मीठा कुरा सुनेर उनीहरूलाई पुन? मन्त्रिपरिषद बैठकमा सामेल गराइरहेको उल्लेख गरेका छन्।

साथै, उनले संसदमा प्रतिपक्षको भूमिका पनि औपचारिकता मात्र भएको टिप्पणी गर्दै लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन्’, जसले भ्रष्टाचार विरुद्धको लडाइँ प्रभावकारी बन्न नसकेको संकेत गर्छ।

कोइरालाले मंगलबार बिहान आफ्नो फेसबुकमा लेखेका छन्, ‘यस्तै रहेछ यहाँको चलन, मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’

कोइरालाको भनाइमा सत्ता गठबन्धनका साझेदार कांग्रेस पनि ‘साक्षी किनाराका सदर’ बनेको भन्दै आफूहरूले पनि निर्लिप्त भएर गलत कामको गवाही मात्र गर्ने भूमिकामा सीमित भएको दुःख व्यक्त गरेका छन्। कोइरालाको यो टिप्पणी सत्तारूढ गठबन्धनभित्रको असन्तुष्टि र सरकारको नैतिक धरातलमा उठेका प्रश्नको संकेतका रूपमा पनि हेरिएको छ।