सम्बन्ध सुधारको प्रयासमा भारत र चीन, सी र जयशंकरबीच भेटवार्ता


काठमाडौं – लामो ‘ग्याप’ पछि चिनियाँ राष्ट्रपति सी जिनपिङ सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा देखिएको अन्तरकलहका कारण सी एक महिनायता सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए ।

सी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार बेइजिङमा भेटवार्ता भएको छ । ‘मैले उहाँ (सी जिनपिङ) लाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धमा हालै भएका विकासक्रमहरूको बारेमा जानकारी गराएको छु। हामी यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई अत्यन्त महत्त्वपूर्ण ठान्छौं,’ जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीन पुगेका हुन्। यसअघि सोमबार एस जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए। बैठकपछि उनले भारत र चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए।

सन् २०२० मा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा भएको सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा आएको तनावपछि विदेशमन्त्री एस। जयशंकरको यो पहिलो चीन भ्रमण हो।