काठमाडौं – पछिल्लो समय गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आइरहेका छन्। यस विषयमा दुवैले व्यापक समर्थन पनि पाइरहेका छन् ।
स्वयं प्रधानमन्त्री केपी ओलीले पनि ‘छोरी’ सम्बोधन गर्दै यस्तो कार्यको सराहना गरेका छन् । एलिना र समीक्षाले त्यसरी अभद्र टिप्पणी गर्नेहरूलाई प्रोफाइलसहित सार्वजनिक गरेपछि उनीहरूले माफी मागेका छन् । कतिपयलाई भने नेपाल प्रहरीको साइबर ब्युरोले कानुनी दायरामा ल्याउन थालेको छ ।
एलिना र समीक्षाकै बाटोमा चर्चित गायक रामकृष्ण ढकाल पनि अघि बढेका छन् । उनले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेका छन् । ढकालले गायिकाद्वय एलिना र समीक्षाले गरेको साहसको पनि सम्मान गर्दै आफूले पनि साथ दिएको बताएका छन्।
‘यी तस्बिरहरू सार्वजनिक गर्नुअघि म गरौँ कि नगरौँ भनेर द्विविधामा पनि परेँ । तर, धेरै सोचेपछि म यो निष्कर्षमा पुगे कि मैले यो अपराधको भण्डाफोर गर्नैपर्छ । यसबाट मेरो पीडाको घाउमा केही मात्रामा भए पनि मलहम लाग्नेछ । केही संख्यामा भए पनि अपराधीहरू कारबाहीको दायरामा आउनेछन् । अझ, त्योभन्दा पनि ठूलो कुरा केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैँसे गरिरहेको हुनेछु भन्ने लाग्यो,’ उनले लेखेका छन् ।
ढकालले आफूलाई अभद्र टिप्पणी गर्नेहरू केही प्रहरीको हिरासतमा रहेको र केही निगरानीमा रहेको पनि बताएका छन्। उनले लेखेका छन्, ‘यी सबै कुरा मनन गरेर मैले यी तस्बिरहरू सार्वजनिक गरेको छु । यी यस्ता केही अपराधीहरू हुन् जसमध्ये केहीले सातवटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए । केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए । यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन् भने केही निगरानी र खोजीको सूचीमा छन् ।’
प्रतिक्रिया