काठमाडौं। प्रधानमन्त्री केपी ओली विभिन्न काण्डमा मुछिएका मन्त्रीलाई हटाउन भन्दा मन्त्रीहरूको सेटै फेर्ने मनस्थितिमा पुगेका छन् । एकपछि अर्को मन्त्री भ्रष्टाचार र घुसकाण्डमा मुछिएपछि तनावमा परेका ओली सके कांग्रेस र एमालेका सबै मन्त्री, नभए एमालेका रघुजी पन्त र भगवती न्यौपानेलाई बाहेक अरुलाई फेर्ने निचोडमा पुगेका छन् । पन्त गत वैशाखमा विद्य भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री नियुक्त भएका थिए ।
त्यही भएर उनलाई तत्काल हटाइने छैन । राष्ट्रिय सभा सदस्य न्यौपाने मंगलबार मात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी हुन् । मन्त्री राजकुमार गुप्ताले घुसकाण्डमा पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले न्यौपानेलाई सामान्य प्रशासनमन्त्री नियुक्त गरेका हुन् । न्यौपानेको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । त्यसपछि उनी ६ महिना मन्त्री पदमा रहन सक्नेछिन् । संविधानमा मन्त्री भएको ६ महिनाभित्र सांसद चुनिएर आउनुपर्ने व्यवस्था छ ।
सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका गुप्ताको अडियो काण्डले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी पनि विवादमा मुछिएका छन्। मंगलबारको संसद् बैठकमा रास्वपा, राप्रपा, माओवादीलगायतका सांसदले अधिकारीले पनि राजीनामा दिनुपर्ने भन्दै उनीमाथि पनि छानबिन गर्न माग गरेपछि प्रधानमन्त्री ओली तप दबाबमा परेका छन् ।
गुठी संस्थानको सञ्चालक समितिमा दिपकराज पाण्डे जस्ता विवादित व्यक्तिलाई मनोनीत गरेर आलोचित हुँदै आएका मन्त्री अधिकारी भूमि आयोगको नियुक्ति प्रकरणमा विवादित बनेका छन्। भूमिमन्त्री अधिकारीको रोजाइमा परेका भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यलाई अख्तियअख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे २४ लाख घूस रकमसहित रंगेहात पक्राउ गरेको छ।
पोखरा मालपोत प्रमुख फेर्ने पैसाको चलखेल भएको अडियो सर्वत्र चर्चामा छ। तत्कालीन भूमिमन्त्री रञ्जिता श्रेष्ठले गुठी संस्थानको अध्यक्ष बनाउन खोजेका विवादित पात्र दिपकराज पाठकलाई सदस्य बनाउनुले अधिकारीको नियतमाथि समेत प्रश्न उठेको हो। भूमि आयोगसँग जोडिएको टेप काण्डदेखि रंगेहात काण्डसम्म अख्तियारमा पुगेको छ।
विभागीय मन्त्रीको हैसियतले अधिकारीको नैतिक जिम्मेवारी र जवाफदेहिताको खोजी सुरू भएको हो। त्यही भएर प्रधानमन्त्री ओलीले एमालेका सँगै जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मन्त्री बनाउने बारे छलफल थालेका छन् । तर कांग्रेसमा भने मन्त्री फेर्नेबारे बहससमेत भएको छनै ।
प्रतिक्रिया