असार महिनामा रिलिजमा आएको एक मात्र फिल्म ‘यो मन त मेरो नेपाली हो’ले निकै कमजोर व्यापार गर्यो । फिल्मको व्यापार उत्साहजनक हुन सकेन । फिल्मको प्रचारमा यसका कलाकारदेखि निर्माण टिमले कुनै कसर बाँकी राखेका थिएनन् । तर, फिल्मले देशभरका कही कतै पनि दर्शक तान्न सकेन ।
नेपाली फिल्मका लागि असार महिना सुनसान नै रह्यो । तीन साता त फिल्म नै रिलिज भएनन् । रिलिजमा आएको एउटा फिल्म पनि चिलिम फर्कियो ।
वैशाखदेखि असारसम्म रिलिजमा आएका फिल्ममध्ये ‘ऊनको स्विटर’ बाहेक कुनै पनि फिल्मले दर्शक तानेको छैन । ‘नरसिंहाः अवतार’ले १ करोड माथिको ग्रस कलेक्शन गर्दा अरु फिल्मको लाइफ टाइम कलेक्शन १ करोड पनि कट्न सकेन । अधिकांश फिल्म निकै कमजोर आँकडामा खुम्चिएका छन् ।
यसैले, नेपाली फिल्मको बक्स अफिस अब कुन फिल्मले तताउला भन्ने चासो सर्वत्र छ । साउनदेखि निरन्तर फिल्म रिलिज छन् ।
दर्शकले प्रतिक्षा गरेका फिल्महरुको लाइनअप लामो छ । स्टार कलाकारदेखि नाम चलेका व्यानरहरुको निर्माणमा बनेका फिल्मको लाइनअप पनि लामो छ ।
यसैले, साउनदेखि नेपाली फिल्मको बक्स अफिस सुध्रने अपेक्षा गरिएको छ । तर, कुन फिल्मले बक्स अफिसमा दर्शकलाई तान्न सक्ला ? सबैको प्रतिक्षा यसमै छ ।
प्रतिक्रिया