काठमाडौं – पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय हुने र सर्वसम्मत अध्यक्ष बनाएपछि तरंग सिर्जना भएको छ । भण्डारीको निर्णयले नेपाली समाज नै दुई ध्रुवमा विभाजित भएको छ । एउटा पक्ष पूर्वराष्ट्रपति राजनीतिमा आउँदा आकाशै खस्दैन भन्ने र अर्को पूर्वराष्ट्रप्रमुख अमूक दलमा राजनीतिमा सक्रिय बन्दा पद र गरिमा धुलिसात हुने भनिरहेको छ ।
अझ एमालेमा भने यो विषयले तीव्र बहस सिर्जना गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पनि सार्वजनिक ठाउँमा भाषण गर्दा भण्डारीको विरोध गरेको जस्तो देखिन्छ । तर भण्डारी भने ओलीप्रति नरम नै छिन् । उनले ओली अबको एमालेको अध्यक्ष नबन्ने प्रस्टैसँग भनिसकेकी छन् । यदि यही कुरा अरु नेताले भनेको भए एमालेमा आठ रेक्टर स्केलको भूकम्प नै जान्थ्यो । तर भण्डारीको अभिव्यक्तिलाई सामान्य लिइयो । यसले पनि भण्डारीले अहिले जे जे स्टेप चालिरहेकी छन् त्यो सबै ओलीकै सहमति र सल्लाहमा भइरहेको खुल्दै गएको छ ।
एमालेमा अध्यक्ष बन्ने दौडमा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेलदेखि अष्टलक्ष्मी शाक्यसम्म छन् । ओली दुईपटक पार्टी अध्यक्ष भइसके । यदि ओलीले सिधै भण्डारीलाई राजनीतिमा ल्याउँदा नेतृत्वका आकांक्षीको तारोमा पर्ने भएकाले पनि सल्लाह र परामर्शअनुसार नै अहिले गतिविधि भइरहेको अनुमान गरिएको छ । सात सात वर्ष राष्ट्रपति खाएर पनि फेरि एमाले अध्यक्ष बन्न खोजेको आरोप लाग्ने डरले भण्डारीले पनि बाहिर हेर्दा टसल सुरु भएको जस्तो अभिव्यक्ति दिने गरेको एमालेकै नेता कार्यकर्ताको बुझाइ छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त पार्टी अध्यक्ष ओलीसँगको परामर्शपछि मात्रै विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको बताएका छन् । ओली स्वयंले पार्टीका विभिन्न मिटिङमा पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधान र पार्टीको विधानले नरोकेको बताएको उनको भनाइ छ ।
‘पार्टी अध्यक्षको परामर्शविना विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गर्नुभएको हो ? त्यो कल्पना गर्न सकिन्छ ? संगठन विभागले सदस्यता नवीकरण गर्छ । संगठन विभाग चेन अफ कमाण्डमा चलेको छ । संगठन विभागले त्यसै सदस्यता नवीकरण गर्दियो त ? कहीँ सोध्यो होला, बुझ्यो होला, जानकारी लियो होला । त्यसपछि सदस्यता नवीकरण गर्यो होला । पार्टीमा सल्लाह नभइ आएको होला भन्ने मलाई लाग्दैन । केपी ओली नै त्यो नेता हो जसले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउनका लागि न संविधानले रोकेको छ, न पार्टीको विधानले रोकेको छ । कसैले रोक्ने काम गर्छ भने त्यो गलत हो भनेर सबै साथीहरुलाई बताउने गर्नुभएको छ,’ बुधबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भने ।
प्रतिक्रिया