काठमाडौं – गर्मी बढेसँगै रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्पको बिगबिगी देखिएको छ । जताततै सर्पको बिगबिगी देखेपछि स्थानीय त्रासमा परेका छन् ।
तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल उपमहानगरपालिका–११ देवसिद्धचोकको एउटै घरबाट आठवटा र देवदह नगरपालिका–८ टटेराको एउटै घरमा नौवटा गोमन सर्प भेटिएपछि स्थानीयमा त्रास छाएको हो । प्रायः जंगलमा पाइने गोमन सर्प घरघरमै भेटिएपछि स्थानीय चिन्तामा परेका छन् ।
सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक हो । तिलोत्तमा प्रेमनगरका डिलाराम अर्याललाई भान्सा कोठामा खाना पकाउँदै गर्दा सर्पले डसेर अस्पताल भर्ना भएपछि घरमा सर्प खोजतलासका क्रममा तीन दिनमा २३ वटा गोमन भेटिएको उनले बताए ।
भान्सा कोठामा केही भाग फुटेको देखेपछि सर्प उद्धारकर्तालाई बोलाएर हेर्दा पहिलो दिन पाँचवटा र दोस्रो दिन दिनभर खोज्दा थप १२ वटा सर्प भेटिएका थिए । तेस्रो दिन पनि खोजी गर्दा थप ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धारकर्ताले जंगलमा लगेर छाडेका थिए । लगत्तै बुटवल–११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन आठवटा गोमन सर्प भेटिएको थियो ।
देवदह नगरपालिका–८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार नौवटा गोमन सर्प भेटिएपछि विशाल पाण्डेको टिमले सर्पलाई समाएर जंगलमा पुर्याएर छाडेका छन् ।
विगतमा वनजंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको उद्धारकर्ता पाण्डेको भनाइ छ ।














प्रतिक्रिया