र्टीकै मन्त्रीलाई एमाले नेता रिजालले लगाए यस्तो आरोप


काठमाडौं – ७८ लाख घुस डिल प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले राजीनामा नदिएकोमा एमालेकै एक नेताले आपत्ति जनाएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहेको बेला अनेकौँ काण्ड बाहिरिएकोमा चिन्ता जनाएका छन् ।

भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री केपी ओलीको क्याविनेट सदस्य नै घुस लेनदेनमा जोडिएका घटना सार्वजनिक भइरहँदा रिजालले सामाजिक सञ्जालमार्फत् चिन्ता व्यक्त गरेका हुन् ।

मालपोत अधिकृतको सरुवा र भूमि आयोगको नियुक्ति दिलाउन विभागीय मन्त्रीले घुस ‘डिल’ गरेको अडियो सार्वजनिक हुनु र भक्तपुरको मालपोत अधिकृत २४ लाख ५० हजार घुससहित पक्राउ पर्नुलाई रिजालले अनौठो संयोग मानेका छन् ।

भूमिसुधार मन्त्री अधिकारीले ‘मैले खाएको छैन’ भनी चोखिन खोजेको भन्दै रिजालले कटाक्षसमेत गरेका छन् । ‘यस्तो ‘हिम्मत’सँग कायल नभइरहन सकिएन । घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन्’, उनले फेसबुकमा छन्, ‘यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन् ।

मन्त्रीकै निर्देशन र योजनामा कर्मचारीले घुस लिइरहेका छैनन् ? रिजालको प्रश्न छ । उनले भनेका छन्, ‘यो उनको मात्रै हिम्मत होला त ? यस्तो काम चुपचाप कति भइरहेको होला मालपोत र नापीमा ?’ ७८ लाख घुस डिल प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्री अधिकारीको नाम पोलेका थिए । उनले अडियोमा ‘भूमिमन्त्रीले पैसा खाइसक्यो, काम गर्दैन’ भनेका थिए । गुप्ताले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् ।