ओलीको मन्त्रिपरिषद् फेरिँदै, कांग्रेसभित्र पनि असन्तुष्टि चुलियो,साउनको दोस्रो सातामा मन्त्री हेरफेर


काठमाडौँ — सरकार गठनको एक वर्ष पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। २०८१ असार ३० मा प्रधानमन्त्री बनेका ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। मंगलबार सो सरकारको एक वर्ष पुगेको हो।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको संकेत दिंदै, “गठबन्धनको सहमतिमा फेरबदल हुनसक्छ,” भनेका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रधानमन्त्री ओलीले निर्णय लिनेछन्।

कांग्रेसभित्र पनि असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओलीले दुई महिनाअघि नै सभापति देउवालाई पुनर्गठन प्रस्ताव गरेका थिए। त्यतिबेला अस्वीकार गरे पनि अहिले देउवा लचक देखिएको नेताहरूको भनाइ छ।
आरजु राणा र गृहमन्त्री रमेश लेखकलाई कायम राख्ने तयारी छ भने अन्य मन्त्रीहरू परिवर्तन हुने सम्भावना रहेको छ।

एमालेभित्र पनि केही मन्त्रीहरूलाई हटाएर नयाँ अनुहार ल्याउने तयारी छ। साउन दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ।