काठमाडौं – ७८ लाख घुस डिलमा तानिएपछि संघीय मामिलामन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताले बिचौलियासँगको अडियोमा भनेका थिए, ‘बलरामले पैसा खाइसक्यो, काम गर्दैन’ । गुप्ताले यसरी अचानक बलराम अधिकारीको नाम पोलेपछि धेरैले उनको आलोचना गरे । अधिकारीले पनि त्यसबारे टिप्पणी गर्दै भने– जुन औंलामा बिख हुन्छ, त्यही औंला झर्छ । नभन्दै गुप्ताले मन्त्री पदबाट राजीनामा दिए ।
गुप्ताले राजीनामा दिएको भोलिपल्टै भूमि व्यवस्थामन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । अडियोअनुसार उनले पोखरा लिचीघारीको १३५ रोपनी विवादित जग्गा स्वार्थ समूहको नाममा दर्ता गरिदिने भन्दै घुस लिएका हुन् । यही जग्गा काण्डमा ५३ लाख रुपैयाँ घुस खाएको आरोप लागेपछि गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिइसकेका छन् । उनले जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको अडियो सार्वजनिक भएको थियो ।
पछिल्लो सार्वजनिक अडियोमा अधिकारीले पैसा खाइसकेको दाबी बिचौलियाले गरेका छन् । अडियोमा तत्कालीन भूमिसचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज र निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् । महेन्द्र गुफानजिकै रहेको जग्गा हत्याउन व्यापारिक समूह लागिरहेको थियो, यही विवादमा केही वर्षयता बिचौलिया छिरेका थिए । हाल भोगचलन गर्दै आएकाहरूको जग्गा स्वार्थ समूहको डिजाइनबमोजिम अर्कैलाई दर्ता गरिदिने नाममा मन्त्री अधिकारीले घुस खाएको आरोप लागेको हो ।
सार्वजनिक भएको अडियोमा मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी बिचौलियाले गरेका छन् । अडियोमा मन्त्री अधिकारीले ३२ र भूमिसचिव (तत्कालीन सचिव अर्जुन पोखरेल) ले पाँच लाख रुपैयाँ बुझेको दाबी गरिएको छ । ‘यताउता गरेर डेढ करोड जति गइसकेको’ दाबी अडियो संवादमा गरिएको छ । सचिव पोखरेलले नयाँ पुलस्थित होटेलबाट दुइटा वनकुखुरा, १० हजारका विभिन्न सामान, भिआइपी रक्सी र लगभग पाँच लाख रुपैयाँ लगेको अडियोमा भनिएको छ ।
आफू मन्त्री भएपछि अधिकारीले न्युजिल्यान्डमा बस्ने छोरा मनोजलाई पैसा उठाउन नेपाल बोलाएको दाबी पनि अडियोमा गरिएको छ । ‘बुवा मन्त्री भएपछि नेपाल बस्न थाल्यो, यसैयसै (पैसा) उठाउन लाग्यो,’ मनोजबारे अडियोमा भनिएको छ । छोरा मनोजले पैसा उठाउने गरेको अडियोमा सुनिन्छ । मन्त्री अधिकारीबाट पटक–पटक पैसाको माग हुने गरेको दाबी पनि अडियोमा गरिएको छ । मन्त्रीका निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् ।
मंगलबार साढे २४ लाख घुस लिँदै गर्दा पक्राउ परेका भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्यलाई पनि मन्त्री अधिकारीले नै रोजेर पठाएका थिए । चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तल्सिङको लगत कट्टा गरी जग्गा मोहीका नाममा धनीपुर्जा बनाउने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा अख्तियारले प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले मालपोत प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र कार्यालय सहयोगी अधिकारीबाट एउटा मोबाइलसहित २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । आचार्यलाई गत वर्ष मन्त्री अधिकारीले नै मालपोत प्रमुख बनाएर भक्तपुर सरुवा गरेका थिए ।
Write to onlinetvnepal.com
प्रतिक्रिया