एकपछि अर्को मन्त्री घुसकाण्डमा मुछिएपछि दीपकराज गिरीको कटाक्ष


काठमाडौं – एकपछि अर्को मन्त्री घुसकाण्डमा मुछिएपछि चर्चित कलाकार दीपकराज गिरीले कटाक्ष गरेका छन् । उनले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि व्यंग्य कसेका हुन्। गिरीले मन्त्रीहरूलाई घुस खानका लागि सिकाउनुपर्ने भन्दै व्यंग्य कसेका हुन्।

‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला,’ गिरीले बिहीबार फेसबुकमा लेखेका छन्।

७८ लाख घुस डिल प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिव्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी मुछिएका छन् । गुप्ताले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् । अधिकारी भने अर्को घुसकाण्डमा जोडिएका छन् । उनले पोखराको एक लिची बगैंचा बिचौलियाको नाममा पास गरिदिने भन्दै ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ ।