काठमाडौं । एमालेमा ‘वरिष्ठ उपाध्यक्ष’ पद खारेज हुने भएको छ । पार्टीको भदौमा हुने विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजलाई पारित गर्ने भएको छ । एमालेमा हालवरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । स्रोतका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेपछि पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज गर्न लागिएको हो ।
बिहीबार बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरी विधानमा संशोधन गर्न लागेको छ । आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार बस्दैछ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको बुझिएको छ ।
हाल एमालेमा ६ जना उपाध्यक्षमध्ये एक वरिष्ठ उपाध्यक्ष रहेका छन् । यदि वरिष्ठ उपाध्यक्ष पद खारेज भएमा पोखरेलले कि त अध्यक्षमा भिड्नुपर्ने हुन्छ, कि त तलको पदाधिकारीमा बस्नुपर्ने हुन्छ । आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ ।
एमालेमा पछिल्लो समय ७० वर्षे उमेरहद र अध्यक्षको दुई वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ । आज बस्ने सचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ । नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ ।











प्रतिक्रिया