घुसकाण्डमा मुछिएका मन्त्रीलाई कारबाही गर्ने जिम्मा ओलीलाई, आफू चोखो रहेको अधिकारीको दाबी


काठमाडौं । एमालेले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीलाई निर्णय अधिकार दिएको छ । पार्टीलाई बदनाम गर्नेगरी मन्त्रीहरूका घुस प्रकरणसँग जोडिएका अडियो सार्वजनिक भएको विषयमा प्रधानमन्त्रीलाई निर्णय अधिकार दिइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष व्यतित भएको पूर्वसन्ध्यामा सार्वजनिक भएका अडियोलाई एमालेले गम्भीर रूपमा लिएको उनको भनाइ छ । विवादमा मुछिएका मन्त्रीहरूको भूमिका र कार्यसम्पादन क्षमतालाई हेरेर अन्तिम निर्णय लिन प्रधानमन्त्रीलाई जिम्मा दिइएको र यसमा प्रधानमन्त्रीले आवश्यक निर्णय लिने विश्वास पार्टीले लिएको गौतमले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस प्रकरणमा आफू नमुछिएको दाबी गरेका छन् ।

उनले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु । अधिकारीले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए । आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरे ।

केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्न मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको उनले बताए । ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए,’ उनले भने ।

अधिकारीले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको जिकिरे गरे । ‘मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन । मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन । उहाँले जान्न भन्नुभएको थियो होला,’ उनले भने, ‘उहाँ मुद्दामा पनि जानुभयो । गएपछि उहाँको फैसलामा आएन । अहिले आएर जोडेर अब मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर हाम्रो चरित्र हत्या गर्ने र आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ ।’ पोखराको जग्गामा उनी मुछिएको अडियोबाटै खुल्छ ।