काठमाडौं – प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी अध्यक्ष छाड्न नसकिने बताएका छन् । भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
पत्रकार विजयकुमार पाण्डेसँगको एक अन्तर्वार्तामा उनले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने स्पष्ट शब्दमा बताए ।ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी पनि गरे ।
‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन,’ ओलीले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । दोस्रो, पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसित छैन ।’
ओलीले आफू सधैँभरि पदमा नरहने र कुनै पनि जीवित वस्तुका लागि ‘सधैँभरि’ भन्ने कुरा असम्भव रहेको बताए । पत्रकार पाण्डेले ‘तपाईंले २० वर्ष अध्यक्ष हुन्छु भन्दिनुभयो, मान्छेहरूले विश्वास गरिहाल्छन् नि’ भनी प्रश्न गर्दा अध्यक्ष ओलीले मुस्कुराउँदै आफ्नो भनाइको आशय फरक रहेको सुनाए।
‘मैले उनीहरूलाई सरकार फेरिन्छ भन्नेलाई हल्का जवाफ दिएको त,’ उनले भने, ‘पर्ख न एक वर्ष, म प्रधानमन्त्रीबाट छोडिदिन्छु, शेरबहादुरजी हुनुहुन्छ। जीवित चिजका लागि त झन् सधैँभरि भन्ने कुरा हुँदैन। निर्जीव चिज, ढुङ्गा, माटो लामो समय कायम रहलान्, तर जीवित चिज त कायम रहँदैन।’
नेतृत्व हस्तान्तरणको विषयमा ओलीले यसलाई एक स्वाभाविक प्रक्रियाको रूपमा व्याख्या गरे। उनका अनुसार यो पार्टीको आवश्यकता, परिस्थितिको माग र व्यक्तिको कार्यक्षमतामा भर पर्छ।
उनले आफूभन्दा राम्रो काम गर्न सक्ने व्यक्ति अगाडि आएमा उसलाई ठाउँ दिनुपर्ने र त्यसमा कुनै सम्झौता गर्न नहुने बताए। अध्यक्ष पद छाडेपछि दोस्रो वरीयतामा बस्ने लोभ आफूलाई नभएको पनि उनले स्पष्ट पारे। ‘म पहिलो मर्यादा छोड्दै छोड्दिनँ,’ उनले भने, ‘छाड्न परे के छ त भन्दा नजिकै आएर दोस्रो सिटमा बसेर र्याइँर्याइँ गरेर होइन, घर गएर बस्नुपर्छ।’
प्रतिक्रिया