६० फिट अग्लो पोस्टरमा यस्तो देखिए समीर, ‘बलिदान’को प्रचार सुरु



नायक समीर भट्ट फिल्म ‘बलिदान’को नयाँ पोस्टरमा आक्रामक रुपमा देखिएका छन् । उनको रिसाहा अवतारले दर्शकको ध्यान खिच्ने देखिएको छ । दशैंको फूलपातिबाट यो फिल्म रिलिजमा आउँदैछ ।

६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहिबार काठमाडौंको गोंगबु बसपार्कमा रहेको ल्होत्से मलको बाहिरी भागमा राखिएको छ ।

सार्वजनिक पोस्टरमा समीर एक विशालकाय भाला बोकेर आक्रामक रुपमा देखिएका छन् ।

सार्वजनिक पोस्टटरमा देखिएका समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदान देखिन्छ । पोस्टर सार्वजनिक गर्दै फिल्मका निर्देशक सन्तोष सेनले एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात गरेको बताएका छन् । उनले, ‘बलिदान’लाई फिल्म मात्र नभएर एउटा अभियानको रुपमा चित्रित गरेका छन् ।

यो फिल्मले दर्शकहरुमाझ नयाँ छाप छाड्ने दाबी निर्देशक सन्तोष सेनको छ ।

यसअघि निर्माणपक्षले समीर, नायक सौगात मल्ल र नायिका कविता रायको पोस्टर सार्वजनिक गरिसकेको छ । यस्तै, समीरको भिडियो झलक पनि सार्वजनिक गरिएको छ ।

आसुसेन फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा अर्पण थापा, ऋचा शर्मा, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरुको पनि अभिनय छ ।

पवन ब्राडफोर्ड निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।