बालेन-कुलमान र सिके राउतलाई रास्वपामा ल्याउने संकेत, वाग्ले भन्छन् – नयाँ अनुहार भर्सेस पुराना अनुहार’को लडाइँ सुरु भयो


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले बालेन शाह, कुलमान घिसिङ, डा. सिके राउत, गोपी हमाललगायत सक्षम र लोकप्रिय पात्रहरूलाई पार्टीमा जोड्ने संकेत दिएका छन्।

वनस्थलीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वाग्लेले भने, “नयाँ र स्थापित सक्षम पात्रहरू एक ठाउँमा आउने क्रम सुरु भएको छ।”
उनले यो राजनीतिक परिदृश्यलाई ‘नयाँ अनुहार भर्सेस पुराना अनुहार’को लडाइँ भन्दै रास्वपा त्यसको केन्द्र बन्ने बताए।

रवि लामिछानेविरुद्धको मुद्दालाई ‘अति राजनीतिक अभियोजन’ बताउँदै उनले यसको विरोधमा जारी हस्ताक्षर अभियानमा जनसमर्थन बढ्दै गएको बताए।
वाग्लेले स्पष्ट पारे, “हस्ताक्षर अदालतमा बुझाउने होइन, यो जनमतको अभिव्यक्ति मात्र हो।”

उनले कलाकार मनिषा कोइरालाले पनि ऐक्यबद्धता जनाउनु अभियानको सांकेतिक महत्त्व ठूलो रहेको बताए।
नयाँ शक्तिहरूबीच सहयोग र समन्वय बढिरहेको उल्लेख गर्दै उनले भने, “पुराना शक्तिहरू डराउन थालेका छन्।”