अब ओली झनै शक्तिशाली, एमाले विद्यादेवीलाई बाटो ‘बन्द’


काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पार्टीमा झनै शक्तिशाली भएका छन् । तेस्रो कार्यकालका लागि उनले बाटो क्लियर गरेका छन् । बिहीबार मध्यरातसम्म चलेको एमाले केन्द्रीय सचिवालय बैठकले महत्वपूर्ण निर्णय गर्दै ओलीको कोही पनि प्रतिस्पर्धी नरहेको जनाउ दिएको हो ।

११औं महाधिवेशनमा ओलीको प्रतिस्पर्धी मानिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाटै रोकिएको छ । बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो। एमालेमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई विधान अधिवेशनमा सहभागी हुनबाट रोक्न सचिवालय बैठकले यो निर्णय गरेको हो।

पार्टीको १०औं महाधिवेशनताका राष्ट्रपति रहेकी भण्डारीले केही समय अघिमात्र पार्टीको सदस्यता नवीकरण गर्दै एमालेमा फर्किएको घोषणा गरेकी थिइन्। एमाले सचिवालय बैठकले एमालेमा रहेको १९ सदस्यीय पदाधिकारीको संख्यासमेत घटाउने निर्णय गरेको छ।

एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासमेत हटाउने भएको छ। यसपछि ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न बाटो साफ भएको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी हटाउने वा नरहने र १५ सदस्यीय पदाधिकारी र २५ सदस्यीय स्थायी कमिटी रहने प्रस्ताव भएको छ। बैठकले केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ पोलिटब्यूरो सदस्य रहने निर्णय गरेको छ।