एमालेमा ७० वर्षे उमेरहदको प्रावधान हटेपछि शंकर पोखरेल प्रफुल्ल


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाट रोकेपछि एमाले महासचिव शंकर पोखरेल प्रफुल्ल देखिएका छन् । विगतमा मदन भण्डारीका अनुयायी मानिएका पोखरेल अहिले विद्यादेवीलाई पार्टी राजनीतिमा आउनबाट रोक्न लागिपरेका छन् ।

१० घन्टासम्म चलेको एमाले केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई विधान महाधिवेशनको प्रतिनिधि बन्नबाट रोक्ने निर्णय गरेको हो । पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा पोखरेलले ‘मिसन ८४’ का लागि आवश्यक बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भइसकेको उल्लेख गरेका छन् । बिहीबार पार्टी सचिवालय बैठकले दुई कार्यकालको हदम्याद र ७० वर्षे उमेरहद हटाउने प्रस्ताव पास गरेपछि वर्तमान पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुलेको छ । त्यसप्रति सङ्केत गर्दै पोखरेलको यो प्रतिक्रिया आएको हो ।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ, मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ,’ पोखरेलले भनेका छन् ।