काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकाएक सक्रियता बढाएका छन् । पार्टी सभापतिका लागि दौडधूप जारी राखेका शेखर अहिले विभिन्न दलका शीर्ष नेतासँग घन्टौं वार्तामा बस्नुले धेरैले उनी प्रधानमन्त्रीको दौडमा रहेको आकलन गरेका छन् ।
शेखरले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनी आज बिहान विद्या निवास भंगाल पुगेका थिए । उनीहरुबीच एक घण्टा कुराकानी भएको सम्वद्ध स्रोतले जनाएको छ । भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको जानकारी गराउँदै शेखरसँग सहयोगको अपेक्षा गरेको बुझिएको छ । शेखरले पनि त्यसलाई सहज रुपमा लिँदै सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
कांग्रेसमा संस्थापन इतर खेमाको नेतृत्व गर्ने शेखरले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा दुई घण्टा लामो वार्ता गरेका थिए । कांग्रेस–एमाले गठबन्धन सरकारको विपक्षमा रहेका उनी हिजो खुमलटार र आज भंगाल पुगेपछि राष्ट्रिय राजनीति तरंगित भएको छ । शेखरले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धन तोड्न र उनीहरूको वर्चश्व बढ्न नदिन प्रचण्ड, भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मोर्चाबन्दी थालेको बताइन्छ । यो गठबन्धनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने बुझिएको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच केपी ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन्। उनले कांग्रेस एमाले गठबन्धन ढालेर कांग्रेस नेता कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको दाबी गरे। ‘प्रचण्ड, शेखर कोइरालासहित विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहन्छ। त्यसको लागि सबै सकारात्मक ढङ्गले वार्ता अघि बढेको छ,’ उनको भनाइ छ ।
प्रतिक्रिया