शिक्षा विधेयक ल्याउन सरकारलाई शिक्षक महासंघले दियो १९ दिने अल्टिमेटम


काठमाडौं – नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । यसअघि महासंघले साउन २ गतेभित्र ऐन जारी गर्न समय दिएको थियो । तर महासंघले थप १९ दिनको समय सरकारलाई दिएको छ ।

सरकार इमानदार नरहेको महासंघको आरोप छ । आफूसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी चेतावनी दिएको छ ।

‘असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो । तर, षड्यन्त्र भयो,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो । साउनको २१ गतेभित्र शिक्षा विधेयक पारित होस् । हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस् ।

आन्दोलनमा होमिने अवस्था आए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही सरकार हुने उनको भनाइ छ ।
शिक्षा विधेयक समयमै पारित हुनबाट रोक्न कांग्रेसका केही सांसद र शिक्षामन्त्री रघुजी पन्त सक्रिय भएर लागेको आरोप शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापाको आरोप छ ।