सबै सानाठूला भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै लिङ्देनले बुझाए अख्तियारलाई ज्ञापनपत्र


काठमाडौं – नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै छानबिन र कारवाहीको माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सबै भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै राप्रपाले प्रदर्शनसहित शुक्रबार अख्तियार पुगेर ज्ञापनपत्र पेस गरेको हो।

‘आयोगको वार्षिक प्रतिवेदनअनुसार पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ । केन्द्र, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिन्छ। अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ । सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्,’ ज्ञापनपत्रमा भनिएको छ ।

पत्रमा राप्रपा अध्यक्ष लिङ्देनले अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रष्ट हुने उल्लेख गरिएको छ । ‘सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानवीनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेका छन्। राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानवीन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ,’ लिङ्देनले भनेका छन् ।

राप्रपाले नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्टलगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरुको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना मात्र हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौं कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठूला भ्रष्टाचार काण्डहरुमा अनुसन्धान र कारवाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नयाँ पुरानालगायत सबै भ्रष्टाचार काण्डहरुमाथि पुनः र व्यापक छानवीन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्दछ,’ लिङ्देनले भनेका छन् ।