सामाजिक संजालमा लामो स्टाटस कोर्दै गायिका एलिना चौहानका पूर्व पति विष्णु सापकोटाले आफ्नो भनाई सार्वजनिक गरेका छन् । गायिका चौहानपछि विष्णु मौन थिए । तर, एलिनाले भने सामाजिक संजालमा विष्णुले आफूलाई बिहेपछि यातना दिएको भन्दै अन्तरवार्ता दिइरहेकी छिन् । जसलेगर्दा, विष्णुप्रति मानिसहरुको धारणा पुरै नकारात्मक बनेको थियो ।
तर, उनले लामो समयपछि आफ्नो मौनता तोड्दै लेखेका छन्–‘हामी दुई जना अलग भएपछि आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरु सार्वजनिक रुपमा नल्याउने र शान्तिका लागि मौन बस्ने निर्णय गरेको थिएँ । चुप लागेर बस्ने मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसिटिउरी गर्ने वा आफ्नो उर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन । हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितीमा, आदरपूर्वक घर भित्राएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रुपमा बोल्न उचित ठान्दिनँ । दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिड्नु अदालतको अपमान पनि हो ।’
विष्णुले कठोर शब्द, धम्कीपूर्ण सन्देशहरु, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरुले गर्दा आफू गम्भिर मानसिक पीडाबाट गुज्रिरहेको उल्लेख गरेका छन् । उनले, सम्बन्धमा आएको पीडालाई आत्मसंयमका साथ सहेर बसेको पनि लेखेका छन् । उनले अगाडि लेखेका छन्–‘यस्ता संवेदनशिल विषयहरुलाई सामाजिक संजालमा बहस गर्नु न नैतिक रुपमा, न मानविय रुपमा, न कानुनी रुपमा उचित ठहर्दछ । प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायीक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’
विष्णुले अहिले अनावश्यक रुपमा टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरुले आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुगेको भन्दै आफूले अष्ट्रेलियामा कानुनी प्रक्रिया अगाडि बढाएको पनि लेखेका छन् । उनले, कानुन सबैका लागि समान हुने र न्यायको सही मार्ग पनि त्यही भएको उल्लेख गरेका छन् ।
विष्णुले आम मानिसहरुलाई आफ्नो धैर्यतालाई कमजोरी नठान्न पनि आग्रह गरेका छन् । उनले, आफ्नो स्टाटसमा गायिका चौहानको नाम भने कही पनि उल्लेख गरेका छैनन् ।
प्रतिक्रिया