देउवाको ढाडस पाएपछि विद्यादेवी छेक्न एकपछि अर्को तगारो हाल्दै ओली


काठमाडौं – एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाललाई स्थगित अवस्थामा रहेको जनाएपछि उनको एमाले अध्यक्ष बन्ने बाटो लगभग सकिएको छ।

भण्डारीले सदस्यता नवीकरण गरिसकेको बताएको एक सातापछि एमाले अध्यक्ष केपी ओलीले उनको सदस्यता नवीकरण हुन बाँकी रहेको सार्वजनिक गरिदिए । एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको निर्णय गरेको छ । त्यसैले अबको विवाद भण्डारीलाई अध्यक्ष बनाउने कि नबनाउने भन्ने विषयमा होइन, उनी एमालेको सदस्य बन्न मिल्छ कि मिल्दैन भन्नेमा केन्द्रित रहने छ। त्यसैले उनको सदस्यता नवीकरण हुने सम्भावना कम छ। पार्टी सदस्यताबिना भण्डारीले अध्यक्षमा प्रतिस्पर्धा गर्ने कुरै भएन।

अलि अगाडिसम्म भण्डारीलाई अब एमालेको भावी अध्यक्षका रूपमा चर्चा गर्न थालिएको थियो । यही बीचमा कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे । देउवाले राष्ट्रपति भइसकेको व्यक्ति भण्डारीलाई कुनै हालतमा राजनीतिमा फर्किन नदिन ओलीलाई सल्लाह दिएको समाचार बाहिरियो । सेनाको परमाधिपति भइसकेको व्यक्ति कसरी पार्टीको अध्यक्ष बन्न मिल्छ भन्दै ओलीलाई प्रश्न सोधेका थिए । देउवाको त्यही भनाइपछि नै ओली भण्डारीलाई छेक्न सक्रिय भएको एमाले नेताहरू बताउँछन् ।

देउवा आफै तेस्रो कार्यकाल कांग्रेस सभापति बन्ने कि नबन्ने भन्ने दोधारमा छन् । कहिले अब म पार्टी सभापति बन्दिनँ, नयाँलाई नेतृत्व लिन भन्छन् । कहिले म त निकै अप्ठेरो मान्छे हुँ, मेरो भर नपर है भन्छन् । विद्या भण्डारी एमालेको अध्यक्ष बनेमा भविष्यमा प्रधानमन्त्री पनि बन्ने देउवाको आशंका छ । भण्डारीले यो कुरा खुलेआम भनेकी पनि छन् । कांग्रेस नेता कार्यकर्ता देउवा श्रीमती आरजु राणा देउवालाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनेको देख्न चाहन्छन् । यदि भण्डारी सक्रिय राजनीतिमा फर्के आरजुका लागि तगारो बन्ने देउवाको आशंका छ । त्यसैले उनले ओलीलाई जसरी पनि विद्यालाई रोक्न दबाब दिएको बताइन्छ ।

ओली पनि तेस्रो कार्यकाल मात्र होइन, सकिन्जेल आफैं एमालेको अध्यक्ष बनिरहन चाहन्छन् । यदि विद्या फर्केमा आफ्नो चाहनामा ब्रेक लाग्ने भएकाले पनि उनले भण्डारीको सदस्यता नवीकरण होल्डमा राख्न निर्देशन दिएको बुझिएको छ । तर एमालेको राजनीति अब कसरी अघि बढ्छ भनेर कसैले अनुमान गर्न सक्ने अवस्था भने छैन ।