आफ्नो पार्टी सदस्यता ‘होल्ड’ गरेपछि एमाले कार्यालय जाँदै भण्डारी, ओलीलाई भेट्ने


काठमाडौं । आफ्नो पार्टी सदस्यता नवीकरण होल्डमा राखिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट भएकी छन् । उनी आइतबार एमाले मुख्यालय च्यासल जाँदैछिन् । भण्डारी धेरैपछि एमाले पार्टी कार्यालय जान लागेकी हुन् । पार्टी कार्यालय पुगेर उनले एमाले अध्यक्ष केपी ओलीसँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।

एमाले अध्यक्ष बन्ने उद्देश्यसहित भण्डारीले पूर्वराष्ट्रपतिलाई राज्यले दिएका विभिन्न सेवासुविधा त्याग्दै भण्डारीले पार्टी सदस्यता नवीकरण गराएकी थिइन् । तर एमालको केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखेपछि उनको राजनीतिमा पूर्णविराम लागेको विश्लेषण गर्न थालिएको थियो ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए। बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। साउन ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै यसलाई टुंग्याउनुपर्ने म्यान्डेटअनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्।