लिङ्देनले उपाध्यक्षबाट निकालेका मुकुन्दश्याम पुगे निर्वाचन आयोग


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । उनी आइतबार बिहान आयोग पुगेका छन् । उनले आफूलाई उपाध्यक्षबाट बर्खास्त गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध उजुरी दिन लागेका छन् ।

गिरीलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेश समितिको साथ छ । निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।
गत शुक्रबार अध्यक्ष लिङ्देनले मनोनीत उपाध्यक्ष गिरीलाई केन्द्रीय सदस्य पदबाट समेत बर्खास्त गरेका थिए। सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् ।

राप्रपाको कर्णाली प्रदेश समितिले गिरीलाई हटाउने निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । महामन्त्री कुन्तिकुमारी शाहीसहित राप्रपाका १६ जना केन्द्रीय समितिका नेताले गिरीलाई उपाध्यक्ष पदमा फर्काउन अध्यक्ष राजेन्द्र लिङ्देनसँग संयुक्त रूपमा अपिल गरेका छन्।

यसअघि नवराज सुवेदी र सगुन लावती पनि अध्यक्ष लिङ्देनको निर्णयविरुघ निर्वाचन आयोग पुगेका थिए । तर आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।