काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि कांग्रेस नेता शेखर कोइरालाले आफू पक्षीय सांसदहरूको भेला राखेका छन् । आइतबार दिउँसो दरबारमार्गस्थित एक होटलमा कोइरालाले आफूपक्षीय सांसहरूसँग छलफल गर्न लागेका हुन् ।
समसामयिक विषयमा छलफल गर्न सांसदहरूबीच छलफल हुन लागेको कोइराला निकट एक सांसदले जानकारी दिए । छलफलमा आन्तरिक राजनीति र समसामयिक विषयमा कुराकानी हुनेछ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको गठबन्धनलाई अप्ठ्यारो पार्नेगरी नयाँ राजनीतिक ध्रुबीकरणको तयारी भइरहेका बेला कोइरालाले आफूपक्षीय सांसदसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ । सरकारलाई अप्ठ्यारो पार्नेगरी हुन लागेको राजनीतिक ध्रुवीकरणबारे शनिबार एमाले पोलिटब्युरो बैठकमा समेत कुरा उठेको थियो ।
प्रचण्डले शेखरलाई प्रधानमन्त्रीबाट ओलीलाई हटाउन भूमिका खेल्न सल्लाह दिएका थिए । प्रचण्डले शेखर कांग्रेस संसदीय दलको नेता बन्न सके प्रधानमन्त्री बनाउन आफूले सहयोग गर्ने बताएको बुझिएको छ । तर अहिलेको अवस्थामा ओली र देउवा मिलेसम्म सरकार परिवर्तन हुने कुनै गुञ्जायस नभएको कांग्रेस संस्थापन पक्षका एक नेताले बताए ।
प्रतिक्रिया