एमाले केन्दीय कमिटी बैठक बस्दै, सीमित केन्द्रीय समितिले मात्र बोल्न पाउने


काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ। बैठकमा आगामी भदौ २०–२२ मा ललितपुरको गोदावरीमा तय गरिएको विधान महाधिवेशनका लागि तयार गरिएको प्रारम्भिक मस्यौदा प्रस्तुत गरिनेछ। विधान मस्यौदा समितिका संयोजक तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट स्वीकृत मस्यौदा केन्द्रीय कमिटीमा पेस गर्नेछन्।

बैठकमा सहभागी केन्द्रीय सदस्यलाई तीन मिनेटसम्म धारणा राख्न समय प्रदान गरिनेछ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले आफ्नो मत पहिले नै राखिसकेकाले आजको बैठकमा उनीहरू सहभागी भए पनि धारणा राख्ने छैनन्। पार्टीमा केन्द्रीय तहका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक करिब २३० जना सदस्य छन्।

आज सुरु हुने बैठक भोलिसम्म सकिने अपेक्षा गरिएको भए पनि सबैले धारणा राखेमा बैठक पर्सिसम्म लम्बिन सक्ने अनुमान गरिएको छ। यसअघि साउन १ देखि ३ गतेसम्म बसेका उच्च तहका बैठकहरूबाट उमेर सीमा (७० वर्ष) र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय भइसकेको छ। सोही निर्णयलाई समेटेर तयार गरिएको मस्यौदा आज प्रस्तुत हुँदैछ।

केन्द्रीय कमिटीले मस्यौदा अनुमोदन गरेपछि सो दस्तावेज सुझाव संकलनका लागि मातहतका सबै कमिटीमा पठाइनेछ। अन्ततः संकलित सुझावहरूसहित संशोधित मस्यौदा विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टीले जनाएको छ। एमाले केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण एजेन्डा रहेको छ । भण्डारीको सदस्यता नवीकरणसम्बन्धी निर्णय केन्द्रीय समिति बैठकले गर्नुपर्ने नेताहरुको भनाइ छ ।