बंगलादेशको वायुयानको विमान दुर्घटनाग्रस्त, स्कुल क्षेत्रमा कोलाहल मच्चियो


काठमाडौं । बंगलादेश वायुसेनाको विमान ढाकाको उत्तरा क्षेत्रको दियाबारी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सोमबार दिउँसो पौने २ बजे विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेको बताइएको छ । विमान खसेपछि विद्यालय र वरपरका क्षेत्रमा कोलाहल मच्चिएको छ ।

विमान दुर्घटनाका धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा स्कुलका विद्यार्थीहरू आफ्नो ज्यान जोगाउन यताउता दौडिरहेको देखिन्छ। हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले दुर्घटनाको कारण वा हताहतबारेमा जानकारी दिन मानेनन् । प्राप्त जानकारी अनुसार एफ ७ चिनियाँ विमान हो।

एपीका अनुसार सेना र अग्निनियन्त्रक अधिकारीहरूले वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु र धेरैजना घाइते भएका छन् । दुर्घटनाको जानकारी पाउनेबित्तिकै बंगलादेश सेनाका कर्मचारी र अग्नि सेवा तथा नागरिक सुरक्षाका आठ इकाइ घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका छन्।