२८ प्रतिशतले बढे एमालेको क्रियाशील सदस्य


काठमाडौं – एमालेले हालसम्म देशभर एक लाख ३९ हजार नयाँ सदस्य थपिएको दाबी गरेको छ । जुन कुल सदस्यताको करिब २८ प्रतिशत बृद्धि हो । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको दाबी गरे ।

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

गौतमका अनुसार पार्टी अध्यक्ष ओलीले हाल नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति स्पष्ट रूपमा प्रस्तुत गरेका छन । ‘पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राख्नुभयो,’ उनले भने ।

अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिएका छन् । ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिन मतभेदमा नअलमलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्षले निर्देशन दिनुभएको छ’, गौतमले भने ।

बैठकमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखिएको गौतमले जानकारी दिए । ‘
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हालै भएको छलफलको सन्दर्भ पनि आएको थियो। पार्टी कार्यालयमै भएको उक्त छलफल सौहार्दपूर्ण भएको र पूर्वराष्ट्रपति राजनीति फर्किनुहुन्छ कि नफर्कने भन्नेबारे पार्टी अध्यक्षले स्पष्ट धारणा राखेको गौतमले जानकारी दिए। सदस्यताको विषय छलफलबाट टुंगिने उनले बताए ।