‘माग्ने राजा’को गज्जबको गीतः ‘सुतेर उठेको पैसामा’ सार्वजनिक



टिजरबाटै चर्चामा रहेको फिल्म ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुतेर उठेको पैसामा’ बोलको गीत आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतको अडियो दर्शकको मुखमा झुण्डिने खालको छ । गीतमा बाल गायक रोनिश खड्काले पनि स्वर दिएका छन् ।

यो गीतले एक धनाढ्य व्यक्तिको बर्णन गरेको छ । सार्वजनिक गीतको भिडियोमा केदार घिमिरे र विल्सन विक्रम राइलाई फिचरिङ गरिएको छ । फिल्मका मुख्य पात्र पैसामै हिडेको, पैसामै सुतेको, हेलिकप्टर चढेको देखाइएको छ ।

फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाले कार्यक्रममा बताए जस्तै पैसाकै कथामा यो फिल्म बनेको छ । गीतलाई पनि सोही अनुसार तयार पारिएको छ ।

गम्भीर बिष्टले यो गीतको भिडियोलाई कोरियोग्राफी गरेका हुन् । ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा मधुसुदन शर्माको लगानी छ । नरेन्द्र मैनालीको डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ ।

मुनाल घिमिरेको प्रस्तुतिमा तयार भएको फिल्मलाई आरम्भ प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, मिस पबी लगायतको अभिनय छ ।

दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको फिल्ममा कविराज गहतराज र गम्भीर बिष्टको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । सार्वजनिक गीतले टिकटकमा चर्चा पाउने देखिन्छ । फिल्मको गीतले यसको कथावस्तु बोकेको जानकारी निर्माणपक्षले दिएको छ ।