‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ रिलिज, के तीज तताउला ?



फिल्म ‘कोशेढुंगा’ भदौको १२ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन्, जसले यसअघि फिल्म ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका थिए ।

यो फिल्मको पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ आज सार्वजनिक गरिएको छ ।

सेभेन सिज इन्टरनेशनलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा नेत्र अर्यालको शब्द, हुकलाइन खेम सेन्चुरीको छ । यस्तै, गीतमा खेम सेन्चुरीको संगीत, खेमसँगै समीक्षा अधिकारी र दीपिका बयम्बुको स्वर छ ।

तीजको सेटअपमा खिचिएको गीतमा विवाहित र अविवाहित महिलाहरुको कथा भन्न खोजिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नीति शाह र सुरक्षा पन्तलाई अविवाहित र ऋचा शर्मालाई विवाहित महिलाको भूमिकामा देखाइएको छ । उनीहरु, आफ्नै तरिकाले नाँचेका छन् ।

सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, मन्जिल कुमार, प्रविण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

नरदेवी फिल्मस्को प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा तयार भएको यो फिल्ममा प्रेविल कँडेल र किशोर अनुरागको लगानी, दिनेश खड्का कार्यकारी निर्माताको रुपमा छन् । बाबुल श्रेष्ठले छायांकन गरेको यो फिल्माम नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यो फिल्म नेपालसँगै विश्वका ४० देशबाट एकसाथ रिलिजमा आउँदैछ ।

यो गीतले तीजमा दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ । यो गीतको हुकलाइनले टिकटक तताउन सक्छ ।