पुस्तक बेचेरै महावीर पुनले कमाए १२ करोड, सबै पैसा आविष्कार केन्द्रलाई


काठमाडौं । वैज्ञानिक महावीर पुनले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।

आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए । उनको पुस्तकको मूल्य सात सय ५० रुपैयाँ छ । पुस्तक बेचेर कमाएको रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।

विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगर उपप्रमुख पवित्रा महतरा प्रसाईँले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उनको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताए ।

पुनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरे । पुनले विभिन्न जिल्ला जिल्ला पुगेर आफ्नो आत्मकथा बेचेका हुन् ।