विभिन्न विवादका कारण प्रदर्शनको अन्यौलता देखिएको फिल्म ‘रिमै’ अब भदौको २० गतेबाट हलमा लाग्ने भएको छ । यो फिल्मको टिजर सार्वजनिक गर्दै निर्माणपक्षले भदौको २० लाई प्रदर्शन मिति तय गरेको हो ।
सार्वजनिक फिल्मको टिजरमा रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा देखाइएको छ । टिजरमा ग्रामिण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको छ । फिल्ममा नायक दयाहाङ राई गम्भिर भूमिकामा देखिएका छन् भने रिश्मा गुरुङको आत्मीय उपस्थिती, अर्पण थापाको रहस्यमय र रमाइलो चरित्र र वुद्दि तामाङको अभिनयमा गहिराई छ ।
फिल्मको छायांकन र संवादले समाजको गहिरो यथार्थतलाई देखाउँछ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीवी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्ममा शैलेन्द्रध्जव कार्कीको छायांकन छ । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दान बहादुर घले छन् । फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा छन् । यो फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन छ ।
‘कबड्डी’मा निकै रुचाइएका दया र रिश्माको जोडीले यो फिल्ममा पनि दर्शकलाई आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया