काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १५औं महाधिवेशनमा सभापतिमा उठ्न विधानले रोकेको छ । देउवाले अब आफू सभापति नबन्ने बताइसकेका छन् । उमेरकै कारण पनि देउवाले अब कांग्रेस हाँक्न सक्ने देखिन्न । त्यही भएर अहिले कांग्रेसमा पूर्वपदाधिकारीहरू देउवाको आशीर्वाद थाप्ने होडबाजीमा लागेका छन् ।
इतर समूहका नेता शेखर कोइरालासमेत देउवालाई चिढ्याउने पक्षमा छैनन् । देउवा तठस्थ बसिदिउन् भन्ने उनको चाहना छ । तर कांग्रेसमा त्यस्तो सम्भावना देखिएको छैन ।
यतिबेला कांग्रेसमा सात पूर्वपदाधिकारी एकढिक्का भएका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत १५औं महाधिवेशनसम्म मिलेर जाने रणनीतिमा छन् ।
अहिले यो समूह देउवा नजिक छन् । उनीहरूमध्ये पाँच भाइ मंगलबार देउवालाई भेट्न बुढानीलकण्ठस्थित निवासमा पुगेका थिए । जसमा श्रेष्ठ, गच्छदार, सिंह, सिटौला र महत थिए । देउवाले उनीहरूलाई आफूले कसैलाई पनि सभापतिको उम्मेदवार बनाउने बचन नदिएको बताए । भेटमा नेताहरूले केही नेताले १५ औँ महाधिवेशनमा सभापतिमा सभापतिको ‘ग्रिन सिग्नल’ पाएँ भनेर प्रचार गर्दै हिँडेको भन्दै सत्यता के हो भनेर सोधेका थिए । त्यसपछि देउवाले आफूले कसैलाई पनि बचन नदिएको बताएका भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले जानकारी दिए ।
देउवाले कसैलाई बचन नदिएको बताएपछि श्रेष्ठले आफूले १४औँ महाधिवेशनमा नै सभापतिको तयारी गरेको, तर एकपटकलाई सहयोग गर्न भनेको सम्झाउँदै यो पटक आफ्नो पालो आउँछ कि आउँदैन भनेर सोधेका थिए । जवाफमा देउवाले बेला आएपछि सबैसँग सल्लाह गरेर अघि बढ्ने बताएका थिए । देउवाले भित्री कुरा नखोलेपछि उनीहरू असन्तुष्ट बनेका छन् ।
कांग्रेसमा पछिल्लो समय आगामी सभापतिमा देउवाले महामन्त्री गगन थापा र पूर्णबहादुर खड्कामध्ये एकलाई समर्थन गर्नसक्ने चर्चा छ । कसैकसैले सिटौला पनि देउवाको रोजाइमा पर्नसक्ने बताउँछन् । तर सिटौला उठ्दा गगन थापालाई व्यवस्थापन गर्न अप्ठेरो हुने भएकाले थापा र खड्कामध्ये एकजना सभापतिको उम्मेदवार बन्ने बताइन्छ । यदि गगन थापा सभापतिमा उठेर आरजु देउवालाई उपसभापतिमा उठाएमा संस्थापन पक्ष बलियो हुने धेरैको तर्क छ । त्यसैले अहिले देउवाको ‘ग्रिन सिग्नल’ गगन थापालाई हो कि भनेर आशंका गरिएको हो ।
प्रतिक्रिया