एमालेमै फर्किने विद्याको सन्देश, ओलीलाई दिइन् यस्तो चुनौती


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई आफू सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् ।

आफ्नै निवास भंगालमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएकोसमेत बताइन् । उनले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्नेसमेत प्रष्ट पारेकी छन् ।

भण्डारीले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् । जारी एमाले केन्द्रीय समिति बैठकमा ओलीले भण्डारीको प्रवक्ता नबन्न निर्देशन दिँदै कारबाही गर्ने चेतावनी दिएका छन् । जसकारण भण्डारीलाई एमालेमा फर्काउने विषयमा उनी पक्षका नेता बोल्न डराइरहेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । ‘म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ उनले भनिन् ।

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदार रहेको भण्डारीले घोषणा गरेपछि एमालेभित्र मतभिन्तता देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले भने भण्डारीलाई एमालेमा फर्किन नदिने बताइरहेका छन् ।

सम्भवतः एमालेको आजै सकिने केन्द्रीय समिति बैठकले भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाउने औपचारिक निर्णय गर्ने छ ।