काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्न रोक लगाएको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीले बैठकको निर्णय भन्दै मंगलबार मध्यराति विद्याका लागि एमालेको ढोका बन्द गरेको हो ।
एमालेले भण्डारीलाई राजनीतिमा फर्किन के कारणले असम्भव छ भन्ने विषयमा यस्तो कारण देखाएको छ । एमाले निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको भाग–६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको (२) मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको (३) मा राष्ट्रिय एकताको प्रवद्र्धन, सोही धाराको (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा–२६७ को (२) को व्यवस्थाबमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।
यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन ।’
एमालेले भण्डारी राजनीतिमा फर्किए जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गर्दै पूर्वराष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । एमालेको यो निर्णयले अब भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने च्याप्टर क्लोज भएको विश्लेषण गरिएको हो ।
तर भण्डारी निकट एमाले नेता कार्यकर्ताले भने खेल बन्न सुरु भएको दाबी गरेका छन् । अहिले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको हठमा भण्डारीलाई रोकिए पनि त्यसले एमालेको ०८४ को मिसनमा गम्भीर धक्का लाग्ने चर्चा सुरु भएको छ । यदि भण्डारीले पार्टी राजनीतिमै सक्रिय हुने भनेर भोलिदेखि बैठक, भेला गर्न थालिन् भने त्यसले एमालेमा विभाजन आउने र त्यसले एमालेको मिसन ८४ फेल हुने बताइन्छ ।
त्यही भएर ओलीलाई नै तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउन ठूलो शक्ति प्रयोग गरी बन्देज गरिए पनि त्यो टिकाउ हुनेमा एमालेकै नेता कार्यकर्ता विश्वस्त छैनन् । भण्डारीले पनि आफू चुप लागेर नबस्ने र पछि नहट्ने उदघोष गरिसकेकी छन् ।














प्रतिक्रिया