अनुपले साइन गरे मिलनको ‘सुम्निमा’



नायक अनुप विक्रम शाहीले फिल्म ‘सुम्निमा’ साइन गरेका छन् । उनले निर्देशक मिलन चाम्ससँग चौथो पटक सहकार्य गर्न लागेका हुन् । अनुपको यो फिल्ममा अहिलेसम्म नदेखिएको भूमिका हुने बताइएको छ । यसका लागि अनुपले तयारी समेत थालिसकेका छन् ।

मिलन र अनुपको यो चौथो सहकार्य हो । यसअघि उनीहरुले ‘हँसिया, वीर विक्रम र लिलिबिली’मा काम गरिसकेका छन् । करिब ७ वर्षपछि उनीहरुको सहकार्य फेरि जुरेको हो ।

यो फिल्मको शिर्ष भूमिकामा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भइसकेको छ । साथमा फिल्ममा कुन्साङ बमजमले उपासनाको जोडीको रुपमा काम गर्नेछन् ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको सह निर्माणमा बन्ने यो फिल्मले प्रेमकथालाई पर्दामा उतार्नेछ । राजीव थापाको लेखनमा बन्ने यो फिल्मको छायांकन अगष्ट महिनामा लण्डन र नेपालमा हुनेछ । यो फिल्मलाई विदेशी बजारलाई समेत ख्यालमा राखेर तयार पार्ने योजना चाम्सको छ ।