सभापति रवि लामिछानेको सल्लाहमा रास्वपाको खुला आवेदन — रुपन्देही–३ उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार आवेदन सुरु


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार बन्न इच्छुकहरूबाट आवेदन लिन सुरु गरेको छ।

रास्वपाले उम्मेदवार छनोटका लागि २१ साउनसम्म आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। आवेदन दिने व्यक्तिहरूको नामावली २२ साउनमा प्रकाशित गरिनेछ।

उम्मेदवारीमा दाबी वा विरोध जनाउनका लागि साउन २३ र २४ गतेको समय छुट्याइएको छ। त्यसपछि २५ साउनमा उम्मेदवारहरूसँग छलफल हुने र प्रारम्भिक नामावली सार्वजनिक गरिने कार्यतालिका छ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत साउन २७ देखि भदौ ११ सम्म “लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, र समावेशीता”का आधारमा मूल्याङ्कन कार्यान्वयन गर्ने जनाएको छ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार, यो सम्पूर्ण प्रक्रिया सभापति रवि लामिछानेसँगको सल्लाहमा तय गरिएको हो। उम्मेदवार छनोटका लागि भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ भने १५ भदौमा अन्तिम उम्मेदवार घोषणा गरिनेछ।

इच्छुक उम्मेदवारहरूले रास्वपाको मोबाइल एप्लिकेशनमार्फत आवेदन दिन सक्नेछन्।

निर्वाचन आयोगले रुपन्देही–३ को उपनिर्वाचन मिति कात्तिक १७ गतेका लागि तोकेको छ। राप्रपाका सांसद दीपक बोहराको निधनपछि यो क्षेत्र रिक्त भएको हो।