चितवन, साउन — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्रमा पुनः सुधारको ठूलो अवसर आएको बताएका छन्। चितवन उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले अहिले गरिने नीतिगत हस्तक्षेपले विगतमा गुमाएको दशकको क्षतिपूर्ति गर्न सकिने धारणा व्यक्त गरे।
उनले २०४६ सालपछि नेपालले खुला राजनीतिसँगै खुला अर्थनीति अंगाल्नु सकारात्मक निर्णय भएको भन्दै दूरसञ्चार, बैंकिङ र ऊर्जा क्षेत्रजस्ता ठाउँमा देखिएको तीव्र सुधार त्यसैको परिणाम भएको बताए। तर, दीर्घकालीन नीतिको अभाव र नेतृत्वको अस्थिरताले त्यो लहरलाई निरन्तरता दिन नसकिएको थापाको भनाइ थियो।
महामन्त्री थापाले विभिन्न व्यवसायिक क्षेत्रका ११ जना सहभागीहरूबाट प्राप्त सुझावहरूलाई ‘महत्वपूर्ण र व्यावहारिक’ भन्दै अब सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य, स्पष्ट दृष्टिकोण र राजनीतिक इच्छाशक्ति अपरिहार्य रहेको बताए।
कार्यक्रममा सहभागीहरूसँगको संवाद र सुझावलाई आधार मानेर आगामी दिनमा थप योजना बनाउने र यसै विषयमा गहिरो काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।














प्रतिक्रिया