विद्यादेवीसँग सिंगौरी खेल्दा एमालेले भुल्यो पुष्पलाल, प्रचण्डले गरे ‘हाइज्याक’


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सिंगौरी खेल्दा सत्तारुढ एमालेले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस भुलेको छ ।

बुधबार (आज) पुष्पलालको ४७औं स्मृति दिवस हो । तर एमालेले पुष्पलालको स्मृति दिवसको दिन एउटा औपचारिक कार्यक्रमसमेत राख्न सकेन । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउने निर्णय गरेको एमालेले बुधबार केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल सहभागी भए । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम गर्न संसद्मै व्यस्त रहे । जसकारण एमालेले पुष्पलाललाई सम्झन नसकेको हो ।

एमाले आन्तरिक कलहमै भुलिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुष्पलाल स्मृति दिवसमा सहभागी भए । माओवादी, एकीकृत समाजवादी, नेसपा, नेकपा सम्मिलित समाजवादी मोर्चाले बुधबार पुष्पलालको ४७औं स्मृति दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेसपाका अध्यक्ष महीन्द्रराय यादवलगायत चारवटै पार्टीका शीर्ष नेता एवं कार्यकर्ता सहभागी थिए ।