जनार्दन, विप्लव र घनश्याम नयाँ पार्टी गठनको हल्लाले तरंग


काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रवित्रम चन्द विप्लव नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको बुझिएको छ । उनीहरूबीच केही समयअघिदेखि नै नयाँ पार्टी गठनका लागि विभिन्न चरणको बैठक र तयारी भित्रभित्रै हुँदै आएको चर्चा सुरु भएको छ ।

मंगलबार स्कुल अफ माक्र्सिज्मले पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा यी तीनै नेता मुख्य वक्ता थिए । कार्यक्रममा सहभागी विभिन्न दलका नेता कार्यकर्ताले शर्मा, भुसाल र विप्लवको नयाँ पार्टी गठनको बारेमा गाइँगुइँ चर्चा सुनेका हुन् । कार्यक्रममा उनीहरूले अहिलेका कम्युनिस्ट पार्टीबाट देश विकासको सम्भावना नभएको भन्दै वामपन्थी एकता र ध्रुवीकरणमा जोड दिएका थिए । एउटै उद्देश्य र कामका लागि किन फरक फरक पार्टीमा बस्नुपर्यो भन्दै ध्रुवीकरण थाल्नुपर्ने बताएका थिए ।

‘जबजले अब अगाडिको बाटो छेक्छ भने त्यो प्रगतिशील हुन सक्दैन । जनयुद्धका स्मरणले वा माओवादको नामले अब अगाडिको समाजवाद बनाउने बाटो छेक्छन् भने त्यसको क्रान्तिकारी चरित्र हुँदैन । यसमा तयार हुन्छौँ भने हामीले फुटिराख्नुपर्ने कारण आउँदैन,’ भुसालले भने ।

माओवादी उपमहासचिव शर्माले चौबाटोमा रहेको कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन सक्नुपर्नेमा जोड दिए । वर्गप्रतिको प्रतिबद्धतासहित बाँकी जीवनलाई आन्दोलनमा समर्पण गर्ने संकल्पसहित अगाडि बढ्ने उनले बताए । उनले कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता भनिए पनि अहिले जनवाद समाप्त भएर केन्द्रीयता मात्रै बाँकी रहेको बताए ।

नेकपाका महासचिव विप्लवले श्रमिक वर्गलाई भुलेर कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने दाबी गरे । बाटो र लक्ष्य एउटै लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । ‘हाम्रो चिन्ता कम्युनिस्ट आन्दोलनको हो । बाटो र लक्ष्यमा अन्तर प¥यो भने परिणाम सकारात्मक आउँदैन । माक्र्सवाद विज्ञान हो । माक्र्सवादमा विकास गर्नुपर्छ । विकास गर्दा बुर्जुवा, साम्राज्यवादी, दलालबाट डराएर गर्ने होइन । गाँठो जसले फुकाए पनि हुन्छ ।श्रमिक वर्गलाई भुलेर गरिने व्याख्याको अर्थ छैन । कम्युनिस्ट आन्दोलनबारे समयमै सोच्यौँ भने धेरै राम्रो गर्न सकिन्छ, समयमै सोचिएन भने धेरै क्षति पुग्छ,’ उनले भने ।

अहिलेकै अवस्थामा जाँदा ०८४ को चुनावमा कम्युनिस्ट पार्टीहरूको अवस्था निकै कमजोर हुने अनुमान गर्दै शर्मा, भुसाल र विप्लव नयाँ पार्टी गठनको तयारीमा जुटेको स्रोतको भनाइ छ । शर्मा माओवादीमा निकै पेलिएका नेता हुन् । उनलाई अध्यक्ष प्रचण्डले अघि बढ्न दिएका छैनन् । भुसाल एकीकृत समाजवादीको अध्यक्ष बन्न चाहन्थे ।

तर माधव नेपाल आफैं अघि सरेपछि उनी के गरौं कसो गरौं भन्ने अवस्थामा पुगेका छन् । विप्लवलाई माओवादीमा ल्याउने हल्ला चले पनि उनले खासै रुचि देखाएका छैनन् ।