आमाबुबालाई भारतमा छाडेर आएका दिदीबहिनी भक्तपुरमा मृत फेला


काठमाडौं – भारतमा आमाबुबासँग बस्दै आएका दुई किशोरी भक्तपुरमा मृत फेला परेका छन् । भक्तपुरको बोडेमा बस्दै आएका १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल मृत फेला जिल्ला प्रहरीका कार्यालय भक्तपुरले जनाएको छ ।

सुर्खेत घर भएका उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा डेरामा बस्दै आएका थिए ।

प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ । दुवैजना केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा टिकटक खुलै भेटिएको थियो । घाँटीमा डोरीको पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा देखिँदैन, सामान्य स्थितिमै फोटो पनि खिचेका छन् ।

दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ । मोबाइललाई सेल्फीमोडमा राखेर दुवैले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेको केहीबेरमै उनीहरू अफलाइन भएका थियो । उक्त भिडिओमा राखिएको गीत छ मरेर गए नि नतोडिने बन्धन माया हो ।’