संसद् अवरोधमा रास्वपाले राख्यो नयाँ कीर्तिमान, एमालेको तोडियो


काठमाडौं । संसद् अवरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ कीर्तिमान राखेको छ । एमालेले राखेको रेकर्डलाई रास्वपाले तोडेको हो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले बिहीबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन् ।

दुवै दल ५९ दिनदेखि प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् । यसअघि एमालेको नाममा संसद् अवरोध गर्ने कीर्तिमान थियो । एमालेले २०५२ सालमा ५८ दिन संसद् अवरोध राखेर रेकर्ड नै कायम गरेको थियो । ३० वर्षपछि रास्वपाले एमालेको संसद् अवरोधको रेकर्ड भंग गरेको हो ।

रास्वपा र राप्रपाले संसद् बहिष्कार गरे पनि सदनको कारबाही भने जारी छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र बाहिरिन्छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकको कारबाही सुरु गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिएका थिए । कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने बताइन् । दुई प्रतिपक्षी दलले विरोध गर्दा पनि संसद् चल्ने अनौठो अभ्यास भएको भन्दै उनले आपत्ति जनाइन् ।

राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसदमा विरोध जारी रहने बताए । सरकारले सहिद गङ्गालाल अस्पताललाई सहुलियतवापतको ७० करोड नदिएकाले बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम दिनुपर्ने माग गरे ।

भिजिट भिसा प्रकरणका नाममा संसद्मा विरोध गर्दै आइरहेका रास्वपा र राप्रपाबीच पनि कस्तो छानबिन समिति गठन गर्ने भन्ने विषयमा एकमत छैन । रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राज्यले थुनामा पठाएको रिसमा रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।