नयाँ पार्टी खोल्ने अन्तिम तयारीका लागि अमेरिका र युरोप भ्रमणमा निस्के कुलमान


काठमाडौं । २०८४ को आमनिर्वाचनलाई लक्षित गरी नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्। घिसिङ जुलार्इ २५ देखि अगष्ट २६ सम्म विदेशमा रहनेछन् । उनी अगष्ट १० सम्म अमेरिका र अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्। अमेरिकामा रहँदा घिसिङ, न्युयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहनेछन्।

उनले त्यहाँ प्रवासी नेपालीसँग अब आउने निर्वाचनका सम्बन्ध र नयाँ पार्टी गठन गर्दा के कस्ता चुनौती र समस्या आउँछन् भन्नेबारे परामर्श गर्ने छन् । त्यसपछि कलुमान बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा विभिन्न कार्यक्रम, अन्तर्क्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने बताएका छन्।

घिसिङ केही समयअघि मात्रै बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेर फर्केका थिए। नेपालीहरूसँगको अन्तर्क्रियाले उनलाई राजनीतिमा आउन अझ उत्प्रेरित गरेको बताइन्छ । कुलमानलाई विभिन्न दलले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन् । खासगरी माओवादी र नागरिक उन्मुक्तिले बढी नै दबाब दिइरहेको छ । तर उनले त्यसमा कुनै चासो देखाएका छैनन् ।