कार्की ब्यांक्वेटमा विद्यादेवीको पत्रकार सम्मेलन नियाल्दै एमाले


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन् । पत्रकार सम्मेलनमा उपस्थित भइदिन भण्डारीको निजी सचिवालयले विभिन्न मिडियाका प्रधानसम्पादक, सम्पादक, राजनीतिक बिटका पत्रकारलाई आमन्त्रण गरेको छ । एमालेल पार्टी सदस्यता खारेज गरेपछि भण्डारी बिहीबार नै एक कार्यक्रममा सहभागी भएकी थिइन् ।

तर उनले त्यहाँ राजनीतिबारे केही बोलिनन् । आजको पत्रकार सम्मेलनमा भने भण्डारीले आगामी दिनमा आफूले चाल्ने कदम र भावी योजनाबारे खुलस्त पार्ने भएकी छन् । भण्डारीको पत्रकार सम्मेलनलाई एमालेले भने चासोपूर्वक हेरिरहेको छ । मदन भण्डारीको विरासत बोकेकाले विद्यादेवीले चाल्ने भावी कदमले पार्टीलाई निकै असर पुग्ने एमालेले निष्कर्ष निकालेको छ ।

एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा भण्डारीको सदस्यता रातारात वेबसाइटबाटै हटाइएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुलासा गरिसकेका छन् । एमालेले पार्टी राजनीति गर्न रोक लगाएपछि भण्डारीले नयाँ पार्टी खोल्छिन् कि एमालेमै शक्तिशाली गुट निर्माण गर्छिन् भन्ने चासो बढेको छ । यदि एमालेमै रहेर भण्डारीले गुट निर्माण गरिन् भने केपी ओलीको लोकप्रियतामा भारी नोक्सानी पुग्ने विश्लेषण गर्न थालिएको छ ।