रास्वपा भिजिट भिसाबाट चम्केको पार्टी हो: घिमिरे


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणमा दुई महिनादेखि संसदमा नाराबाजी गर्दै आएको रास्वपाप्रति कटाक्ष गरेका छन् । उनले रास्वपालाई भिजिट भिसाबाटै चम्केको पार्टी भनेर दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भिजिट भिसामा धेरै टाउको नदुखाउन उनले रास्वपालाई सल्लाह दिएका छन् । उनले भिजिट भिसामा विदेश गएर विभिन्न काण्ड गरेर नेपालमा सफलता पाएको पार्टी र त्यसकै सभापति मन्त्री, उपप्रधानमन्त्रीसम्म भइसकेकाले धेरै चिन्ता नलिन आग्रह गरेका हुन् ।

घिमिरेले बोल्ने बेलामा रास्वपाका सांसद बाहिरिँदै थिए । त्यहीबेला उनले भने, ‘हामीले एउटा के अभ्यास गरिसकेका छौं भने भिजिट भिसामा गएर विदेशमा विभिन्न काण्ड घटाएर नेपाल आई राजनीतिक दल खोलेर चुनावमा सफलता पाएकालाई मन्त्री र उपप्रधानमन्त्री बनाइसकेका छौं । त्यसैले भिजिट भिसाबाटै चम्केको पार्टीका साथीहरूले धेरै चिन्ता लिनुपर्दैन ।’