संघ सरकारविरुद्ध कपाल मुण्डन गरी माइतीघरमा मेयरले गरे सत्याग्रह


काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले कपाल मुन्डन गरी माइतीघरमा सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटकपटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेकाले सात बुँदे मागसहित उनले आइतबार बिहानदेखि सत्याग्रह सुरु गरेका हुन् ।

सिंहदरबारको दक्षिण गेट अगाडि केश मुन्डन गर्ने भनी पुगेका उनी निषेधित क्षेत्र भन्दै प्रहरीले नियत्रण लिएर माइतीघरमा छाडिदिएको हो । उनले संघीय सरकारले आफ्ना माग पूरा नगरेसम्म सत्याग्रह नछाड्ने घोषणा गरेका छन् ।

देश संघीयतामा गए पनि अझै संघ सरकारले प्रदेश र स्थानीय तहलाई धेरै अधिकार दिएको छैन । जसकारण बेलाबेलामा प्रदेश र स्थानीय सरकारले संघ सरकारविरुद्ध आन्दोलन र अदालतमा मुद्दासमेत हाल्ने गरेका छन् ।