अष्ट्रेलियामा कहाँ कहाँ हुँदैछ ‘पीआर’को प्रिमियर ?



शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘पीआर’को टिजर सार्वजनिक भइसकेको छ । अब, यसको निर्माणपक्षले अष्ट्रेलियामा फिल्मको प्रिमियर गर्ने तयारी गरेको छ ।

फिल्मको निर्माणपक्षका अनुसार, अगष्टको ९ र १२ तारिखमा फिल्मको प्रिमियर अष्ट्रेलियामा हुनेछ । अगष्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा प्रिमियर हुनेछ भने अगष्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा फिल्मको प्रिमियर हुनेछ ।

फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानजेमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा प्रदर्शन हुन लागेको हो ।

यो फिल्ममा आर.ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स मस्तानी र नवीन घायलको मुख्य भूमिका छ । फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी विशेष भूमिकामा देखिदैछन् ।

यो फिल्मको प्रिमियरका लागि निर्देशक शोभित बस्नेत अष्ट्रेलिया पुगिसकेका छन् । फिल्मको विश्वव्यापी रिलिजका लागि पनि तयारी गरिएको निर्माणपक्षले बताएको छ ।

यो फिल्मलाई नेपाली डायस्पोरामा बस्ने दर्शकले हेर्नै पर्ने फिल्मको रुपमा निर्माणपक्षले दाबी गरेको छ । विदेश गएर छोराछोरीले र नेपालमा रहेका बाबुआमाले एक अर्कामा गर्ने आर्थिक तथा विभिन्न बिषयलाई यो फिल्ममा समावेश गरिएको छ ।