पूर्वराप्रपा नेता बास्तोला नागरिक उन्मुक्तिको कार्यबाहक अध्यक्ष, रञ्जिता बिदामा


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष शिवकुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् । केही दिनदेखि अस्वस्थ भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै उनले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।

कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिमा ७८ लाख घुस डिल प्रकरणमा मुछिएपछि श्रेष्ठ विवादमा तानिएकी छन् । पार्टीका संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठकमा सबै कुरा राख्न रञ्जितालाई दबाब दिँदै आएका बेला उनले कार्यबाहक अध्यक्षको जिम्मा पूर्वराप्रपा नेता बास्तोलालाई दिएकी हुन् । पोखराका बास्तोलाले एक वर्षअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए । बास्तोला यसअघि गण्डकी प्रदेशबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।