बागमती प्रदेशमा लामा र बानियाँको आ–आफ्नो दाउ, ढोक्सा थाप्दै एमाले


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध आफ्नै पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि सत्तारुढ एमालेले चिन्ता व्यक्त गरेको छ । उसले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाट आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे छिटो निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री लामा बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता हुन् । उनीविरुद्ध कांग्रेसकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा २१ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तर एकजना सांसद माया श्रेष्ठ सम्पर्कमा छैनन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लामा पद जोगाउन सबैखाले प्रयासमा जुटेका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सांसदहरूलाई मन्त्री बनाउन उनी प्रयासरत छन् ।

मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरिरहेका कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूलाई आफ्ना पक्षमा कायम राखिराख्न लागिपरेका छन् । उनले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका केही सांसदलाई दुई दिनसम्म हेटौंडाको एक होटलमा राखेर हस्ताक्षरमा अडिन थप परिपक्क बनाएका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने केही सांसदलाई आफ्नो पक्षमा ल्याइसकेको मुख्यमन्त्री लामाको दाबी छ । गत शुक्रबार कांग्रेसका २१ सांसदले दल नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

तीमध्ये चारजना मन्त्रीले पदबाट राजीनामा दिए । रिक्त पदमा आफूहरुविरुद्ध हस्ताक्षर गर्नेमध्येकै सांसदलाई नियुक्त गरेर आफ्नो पक्षमा बहुमत कायम राख्न मुख्यमन्त्री लामा प्रयासरत छन् । संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दल नेताले यसबारे छलफल गर्नुपर्ने र सहमति नभए निर्वाचनमा जानुपर्ने कांग्रेस संसदीय दलको विधानमा छ । त्यसका लागि कांग्रेसले प्रतिनिधिसभा सदस्य राजेन्द्र केसीलाई बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिएको छ ।

विवाद मिलाउने जिम्मेवारी पाएका केसीले सोमबार दिउँसो १ बजेका लागि दुवै पक्षबीच छलफल राखिएको बताए । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सहमतिको प्रयास भइरहेको बताए । संसदीय दलको विधानअनुसार पहिलो चरणमा अविश्वास प्रस्तावमा भएको हस्ताक्षर सनाखतको काम हुने चित्रकारले बताए । छलफलपछि सहमति नभए अविश्वास प्रस्तावमा मतदान हुन्छ । मतदानमा कम्तीमा १९ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेमा दल नेताबाट लामा पदमुक्त हुनेछन् ।

चार मन्त्रीले राजीनामा दिएकोमा मुख्यमन्त्री लामाले पछि बर्खास्त गरेको सूचना निकालेपछि कांग्रेसमा आन्तरिक किचलो चुलिएको हो । यही मौकामा बागमती प्रदेश सरकारको नेतृत्व अर्कै दलले उछिट्याउने हो कि भन्ने चिन्ता कांग्रेसीमा देखिएको छ । मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसले लिने र बागमतीमा एमालेलाई नेतृत्व दिने चर्चा सुरु भएको छ ।